दृश्य!!!

यो दृश्य
परिदृश्य
तिमि घरको कुरा गर्थ्यौ
म घाटमा बस्नेलाई
के घर, के जीवन

तिमि सपना बुन्न जान्ने मान्छे
म बुनेको सपना भत्किँदा कस्तो सम्म दुख्छ भनेर
पैले भोगिसकेओ मान्छे
हेरन मान्छे मान्छे बीच पनि, कत्ति फरक छ है
तिमीले बनाएको महल मा
एउटा रानी सजाउन मन थियो होला
म खरानी भैसकेको मान्छेले
सजिएर के गर्नु
हुरी आउदा उडेर
अस्तित्वहीन जो हुनु पर्छ

सुन्दर अनुहार
सलक्क परेको शरीर सँग
तिम्रो खुब लगाव देख्थे म
मेरो लागि के शरीर
के सुन्दरता

मैले हर रुप भएको मान्छे पनि
आगोले समान जलाएको देखेकी छु
त्यहि दिन बाट त हो
मैले बिस्वास गर्न थालेको
कि
जीवन भ्रम हो

मृत्यु शास्वत सत्य

छ जस्तै गरेर
उडिजाने धुँवा हरुले
एकछिन आँशु ल्याईदिन्थे मान्छेका आँखा हरुमा
पुर्याउन आएका हरु हुन् या
छोड्न आएका हुन् कुन्नि
ति रोए जस्तै गर्दथे
पीडाले दुखे जस्तो पनि गर्दथे
अन्ततः
सांसारिकताको नाम दिएर
सर्लक्क फर्कन्थे
आएकै स्वरूप मा

मैले धेरै समय त्
हेरेरै बिताएँ
यो जीवन र मृत्युको दोसाँध मा मात्र रहेछ
असली दृश्य हरु देख्न पाइने
नत्र बजार को भिड मा मैले
मान्छे अजम्बरी झैं गरि घमण्ड गरेको देखें

धेरै मान्छे हरु
सुन्दरताको खोजीमा पहाड चढे
हिमाल हरुलाई सुन्दर देखें भनेर
बयान हरु पनि गरे
गुराँसले ढाकेको रंगिन पहाड देखेर
यहि हो सुन्दरता भनि अल्मलिएको पनि देखें
तर यथार्थ मा मेरो लागि
मृत्यु भन्दा सुन्दर
अर्को देखिन
सायद लोभी छन् मानिस हरु
जो सुन्दर मृत्यु वर्णन गरेको देख्दा
इर्श्याले आँशु झार्छन
बे-अर्थी पानि हरु!!!

Posted in Poem | Tagged , , , | Leave a comment

जवाफ!!!

यो समय रहेछ
मलाई जस्तै अरुलाई पनि
सायद जवाफ दिँदो हो
हर प्रश्नहरुको
हर कौतुहलता को
जवाफ सायद तिमीले पनि कुरर्यौ होला
तिम्र पत्र हरुको
तिम्रा सवाल हरु को
जो अनुत्तरित भएर
मेरा बाकस हरुमा
थन्कि बसेका छन्
कहिलेकाही फुर्सदमा
याद आउँछन
ति लम्बेतान नसकिने पत्रहरु को
जो त्यतिबेला मलाई
तिम्रो उपस्थितिको भान दिलाउँदथे
तर उपस्थितिको पनि
हद हुने रहेछ
हद संगै यसको त
म्याद पनि रहने रहेछ
ति पत्र हेर्दा लाग्छ
ति हद म्याद गुज्रीसकेका मुद्दा झैँ
लाचार छन् अब
भएर पनि नभए झैँ गरि बस्न ।।।
र ति पर्खीरहेछन मेरो फुर्सदि को
जहाँ म
कि तिनलाई पढ़नेछु र बुझ्नेछु
तिम्रा भूतपूर्व अनुभूतिहरु
कि तिनलाई म कतै
जलाउने छु
आगो ताप्नेछु
र न्यानो बन्नेछु
उही तिम्रा भूतपूर्व अनुभूतिहरुको

यदि जलाएँ भने
सायद पाप लाग्छ मलाई
पत्रहरु जलाउंदै गर्दा
मैले पढ्दै नपढेको
मैले बुझ्दै नबुझेको
तिम्रा कुमारी भावनाहरुलाई
अग्निको सहारामा
बिना गल्ति जल्नु पर्दा
अद्भुत पिडा पनि मिल्दो हो
ति मलाई श्राप पनि दिंदा हुन्
खैर कलिको मौषम छ
मैले पाप सँग डराएँ भने
धर्म पनि नगर्दो हुँ
तर मेरा मन हरु पनि
अचम्मैको जिद्दी छन्
ति चाहन्छन त
पहाड फोडेर ल्याउन सक्छन
ति चाहन्नन त
पहाड झुकी आए पनि
कुनै अर्थ राख्दैनन्
तिमीले सजाय तोक्नु परे
यो कठोर मन लाई नतोक्नु
यिनलाई केहि फरक पर्ने छैन
तिमीले कुरेको जवाफको पनि
अब त हदम्याद गुज्रीसकेको छ
तिमी भन्लाउ
मनहरुलाई यसरी
सीमाले बाँध्न मिल्दैन
तर यो मन अल्ली फरक छ
यसलाई कसैले
बाँधेको मन पर्दैन

Posted in Uncategorized | Leave a comment

मर्ने बहानामा
मान्छेहरु बाँचिरहेको देखेँ
भो मैले दुस्साहस गरीन
अब अर्थ खोज्नलाई

म भुलिदिने मान्छे,
सम्झनेलाई त भुलिदिन्छु
बिर्सनेलाई झन के सम्झिबस्नु
अब समझनाको भारी बोकेर
मैले जिन्दगी गर्हुङ्गो बनाउन चाहिन

तारा गन्ने बहानामा
जुनलाई हेरिबस्ने
त्यस्ता अवसरवादी पनि देखेँ
त्यही भिडमा
मैले कसरी चिन्नु
उस्ले साच्चिकै
यौटा मात्र तारा रोजेको थियो
मनको पनि शुद्दता नाप्ने
यन्त्र भएको भए
सायद छुट्याउन सक्थेँ
असली मन
कता कता मिल्ने रैछ भनि

मान्छेहरु
सास रहुन्जेल लाई आस भन्छन्
तर मलाई केवल्
ती बहाना मात्र हुन झै लाग्छ
यौटा डाँडो काटिसकेपछी
अर्को डाँडोमा पनि
उस्तै बोट्बिरुवा देख्न मिल्छ भने
उस्ले डाँडो परिवर्तनको
प्रभाव महसुस नगर्न सक्छ
फरक छुट्याउन पनि
फरक चिन्न सक्नु पर्छ
यत्तिकै मा त
मान्छेमा भ्रम मात्र रहन्छन

Posted in Uncategorized | Leave a comment

तिमीले मलाई
माया गरेर पनि
मलाई म जस्तै हुन दियौ
अनी पो मैले बल्ल
मायाको अर्थ बुझेँ

म सोँच्दथेँ
सायद माया गर्नु भनेको
परिवर्तन आउनु हो जीवन मा
माया गरिनु भनेको
परिवर्तन ल्याउनु हो जिवन मा
तर वदलिएर मात्र पनि
नयाँ पन नभित्रीँदो रहेछ
कहिलेकाहिँ
बसिरहेकै ठाउँमा पनि
नयाँअँ खुशीहरु
भेट्न आउने रहेछन्

म शव्द हरु खोज्दै हिँद्थेँ
तिमी भित्र पुरै अर्थ भेटेँ
म भाव हरु खोज्दै हिँड्थेँ
तिमी भित्र अनुभुती भेटेँ
यो खोजाई हरु भन्दा त
भेटाइ हरुले मौन बनाए
अब बुझेँ
माया गर्छु भन्नु

साँच्चिकै माया गर्नु
ती अलग कुरा हुन्
बुझ्नेले गर्छन्
नबुझ्नेले बस तलास मा
जिवन अर्थहिन बनाइदिन्छन

Posted in Uncategorized | Leave a comment

तिमि उसको हुनु!!!

तिमि उसको हुनु

पूर्णता
सम्पूर्णता
तिमीले चाहेको
र पाएको पनि यहि हो

अधुरो कुराहरुले त
मधुरो खुसी मात्र दिन सक्छ
धेरै घाउहरूलाई
थोरै मलम लगाएर
मर्दै मर्दै बाँच्नु भन्दा
उज्यालो घामको किरण मा
जिन्दगि भरिको खुसी
कत्ति हो कत्ति राम्रो हुन्छ
हो
तिमि त्यहीं खुसीको पछी लाग्नु
तिमि उसको हुनु
उसलाई तिम्रो बनाउनु

मान्छेले सबको हुन खोज्दा
कसैको पनि हुन सक्दैन
भन्लान स्वार्थी
तर स्वार्थी हुनलाई पनि
स्वार्थी हुन सक्नु पर्छ

तिमी त्यहीं बस्नु
जहाँ कमल फुलेका छन्
तलाउमा सुन्दर हिमाल टल्किन्छ
र चुपचाप चुपचाप
खुसि बाँच्ने माछा हरुलाई
हेरी मन बुझाउनु

जीवनमा खुसी उम्लिन्छ
तर पोखिन दिनु हुँदैन
दु:ख गहिरो हुन्छ
जिन्दगी डुब्न दिनु हुँदैन

संधै मायाले माया पनि ल्याउँदैन
तिमीले पाएको मायालाई सम्हालेर राखीराख्नु
पेवा जस्तै गरेर
साँची साँची चलाउनु

यो मायाले पनि कहिलेकाहीं
हुरीको रुप लिन्छ

मन परेको कुराले नै
उडाएर छताछुल्ल बनाइजान्छ
तिमी सम्हालिएर बस्न सक्नु है!!!

Posted in Poem | Leave a comment

साँझ हरु!!!

यौटा साँझ थियो
खुसीका रंगले सबै पोतिएका थिए

त्यहीं भिडमा
मैले आफ्नो लागि रंग भेटेकी थिएँ
भेटाउनु मात्र जिन्दगि हुन्थ्यो त
आज कोलाहलमय हुन्थ्यो होला
झिंझो मानी मानी
म एकान्त खोज्दथें होला
सायद एकान्तको लागि तड्पीन्थें पनि होला
तर यो भेटहरुले
घाट पनि बोकेर ल्याउनाले
म भाग्न थालें

रोज्न थालें
त्यहीं कोलाहल

डर लाग्दो त
एक्लोपन मात्र नभएर
कोलाहल पनि हुन्छ
तर डर लाग्दो भन्दा पनि
रहर लाग्दो खोज्ने मन हरु छन्
आँखा हरुले इर्श्या जम्मा गरिदिनाले
मनहरु उथल पुथल भैहाल्छन् यसै
मन पनि बडो गज्जब को छ
यसलाई सम्हाल्न अर्को मन नै चाहिने
जो औकात को बाहिर छ
म त्यसको पूर्ति कसरि गरूँ ?

पानीहरु जम्न खोज्दैनन्
बाध्यता पोखरी लाई जो पर्दछ
अस्तित्व जोगाउंनै भए पनि
कसैको रहर मारिदिन्छ
कहिलेकाही म पनि सोंच्छु
मैले आफ्नो मन नमार्न
तिमीलाई रोकेको भए हुन्थ्यो कि ?

नहींडुं भने
लेउ लागेर जम्न मन थिएन
तर अगाडी बढ्दा
तिमी कता
म कता
तिमीले रंग लिएर गयौ
मैले आफ्नो कर्म
यत्ति पर आइसकेपछि पो भान भयो

दोष साँझहरु को पनि छ
आयु छोटो लिएर आउँनु

Posted in Uncategorized | Leave a comment

मृत्युका कुरा!!!

कहिलेकाहीं म यसो घोत्लिन्छु, मृत्युको परिभाषा ठ्याक्कै के हुन्छ होला ? मृत्यु मजाक होइन । मृत्यु यौटा यस्तो क्षण, जसले भेट नहुने गरेर बिछोड गराई दिन्छ । मर्नु फरक कुरा अनि मृत्यु फरक कुरा ।

मर्नु मार्नु लाई हिँसा तर्फ नजोडी हेर्ने हो भने मान्छे ले आफु जिउँदो रहंदा पनि थुप्रै कुरा मारेका हुन्छन । भलै ति भौतिक मृत्यु वर्णन गर्दैनन् तर अदृश्य कुरा हरुको पनि बिट मारिदिन्छन । जस्तो मन मार्नु, माया मार्नु । नदेखिने कुरा हरुको अन्त्यलाई मृत्यु नाम दिएर बिट मार्नु ।

यथार्थ कुरा गर्नु पर्दा मृत्यु यौटा सत्य हो । साहित्यिक कुरा गर्नु पर्दा मृत्यु सुन्दर कुरा हो । भावनात्मक दिशा बाट हेर्दा मृत्यु मन छिया छिया पारिदिने हतियार हो । कहिलेकाहीं जोसै जोस मा भानिन्छ, एकदिन मरिहालिन्छ के लाई पिर गर्नु । कहिलेकाहीँ कसैलाई सताउन भानिन्छ, म मरेपछि था पाउछौ । अक्सर मृत्यु को कुरा नगर्ने कोहि हुन्नन् । तर मृत्यु वरण गरेर कोहि जाँदै गर्दा स्वीकार्न पनि सक्दैनौं । सायद भावना हरुले मन भरिएपछी यथार्थ हरु अलिक ओझेल पारिदिन्छन होला ।

वालाचतुर्दशीको दिन आफ्नो बैदार बाजे बित्नुहुँदा पहिलो पल्ट मृत्यु सँग नजानी आमनेसामने हुन् परेको थियो । बाजेलाई लैजाँदै गरेको बाकस र ओढाइएको सेतो च्यादर बाहेक केहि देखेकी थिएन मैले । त्यो भन्दा अगाडी नेपालटार स्कुल पढ्दै गर्दा एक जना दिदीले गर्नुभएको आत्महत्या को समयमा लाश प्रत्यक्ष देख्न पाएकी थिएँ । आफ्ना हरुलाई गुमाउनुको पिडा के हो भन्ने मैले आफ्नो बाजे लाई गुमाउंदै गर्दा भोगेकी थिएँ ।

परिवारको सदस्यलाई गुमाउनु पर्दा पर्ने त्यो खालीपन र त्यसले दिने पिडाहरुले बढी सताउने रहेछ मान्छेलाई । त्यतिबेला म रेडियोमा काम गर्थें । फिक्कल इलामको बसाई । कहिलेकाहीं आफ्नो ड्युटी बाट फुर्सद मिल्दा पशुपतिनगर सम्म हिंडेर गईन्थ्यो । चियाका बुटाहरुले भरिएको थुम्का हरु घामको न्यानो तापेर आनन्दले बसेका हुन्थे । छेवैको लम्पसार परेको नागबेली बाटोमा हामि रमाउन्थ्यौ । जिन्दगानी सुखमय थियो । एकदिन अचानक रेडियोमा बाहिर हल्ला खल्ला चल्यो । बाहिर निस्केर हेर्दा रेडियो नजिकै घर बनाउन बसेका मिस्त्री हरु रहेछन । उनीहरु भन्दै थिए “निमेष दाई त छैन” रेदियोकी बहिनि नबुझेर सोध्दै थिइन् “कहाँ जानुभयो र?”

उनीहरु अक्क न बक्क परेको देखेर हामी हड्बडियौं। उनीहरुले इशारा गरेको स्थान मा गयौं । संगै गएकी बहिनीले दाईको नाडी छामिन । चिसो भैसकेको मान्छेको नाडी किन पो चल्थ्यो र?

निमेष दाई गणेश रसिक सरको सुपुत्र हुनुहुन्थ्यो । हामि आत्तिएका थियौं । परिवार काठमान्डुंमा भएको र निमेषदाई र रसिक सर मात्र इलाम मा बसिरहनुभएको थियो । हामीले वहाँलाई खबर गर्न खोज्यौं तर फोन सम्पर्क हुन् सकेन । सिमाना पारी जानुभएकोले गर्दा फोन लागिरहेको थिएन । त्यसैले हामी वहाँ लाई लिन पशुपतिनगर तर्फ लाग्यौं । सधैँ आरामले रमाई रमाई हिन्ने बाटोमा त्यो दिन हामि स्तब्ध थियौं । खोज्न त् निस्केका थियौं तर भेटेपछि के भन्ने कुनै उपाय थिएन । युवा अवस्थाको आफ्नो छोरो अब नरहेको खबर दिन सायद ठुलै हिम्मत चाहिन्छ । तर हामि सँग उपाय पनि थिएन । र पशुपतिनगर को सिमाना मा गएर रेकर्ड हेर्यौं । त्यहाँ बात थाहा भयो वहाँ सिमाना पारी नै हुनुहुँदो रहेछ । वहाँ लाई लिएर फर्कियौं भन्यौं दाइलाई गाह्रो भएर लिन आएको । बाटामा वहाँ भन्दै हुनुन्थ्यो “अब निमेषलाई बिराटनगर अस्पताल लैजान पर्छ, तपाईं हरु पनि साथ् जानु पर्छ है” हामि तिन जना नबोली नबोली पछाडी बसिरहेका थियौं । अलकत्रे बाटो सकिएपछि हिंडेर अलिक तल झर्नु पर्थ्यो । त्यो ओरालोमा पनि वहाँ भन्दै हुनुन्थ्यो “मान्छे हरु यत्ति धेरै किन जम्मा भाको होला, जाबो बिरामी त भएको हो नि”

सेतो च्यादर ले ढाकिएको शरीरलाई दुइ तिन फेर बोलाउनु भयो,उत्तर नमिलेपछि झकझकाउनु पनि भयो । निमेष दाइ हामीलाई कति हो कति बेला छोडेर गैसक्नु भएको थियो । चुपचाप आफ्नो घरको सिकुवामा गएर यौटा पिता हुनुको धर्म निभाउनु भयो वहांले ।

हिजोसम्म हाँसखेल संगै गरेको दाई एक्कासि अस्ताउनु हुँदा हामीलाई पनि बिस्वास लागिरहेको थिएन । संगै माछा मारेको । रेडियो मा सँगै देउसी भैलो खेलेको । दाइको किताबी कुरा सुनेको । फिक्कल को चिसोमा दाइका नसकिने गफ अनि बाहिर को चिसो सिरेटोले कठ्यान्ग्रिएको हाम्रा हात खुट्टाहरु । विश्वास नलाग्दा पनि सत्य भन्ने सत्य नै हुने रहेछ। तल बग्ने जोगमाई छेउको खोलामा वहाँ लाई सेलाएर आयौं नमजा मान्दै मान्दै ।

जिन्दगि ले यतिसम्म ल्याउदै गर्दा मृत्यु का थुप्रै कुरा सुनिए । तर समय संगै बिर्सदै पनि लगियो । जति बिर्सियो समय समय मा बार बार सम्झना दिलाई रह्यो पनि । २०७२ को भूइंचालो मा पनि मृत्युलाई नजिक बाट देख्न पाइयो । जीवन को महत्व कति छ भन्ने मज्जा सँग ले भोग्न पाइएको थियो । त्यसको लामो समयको अन्तराल पश्चात कोभिड छायो संसार भर । त्यसमा पनि जीवन को महत्व पुरै बुझ्ने गरेर मृत्यु लाई महसुस गर्न पाइयो ।

कोभिड कै समय थियो, एकदिन एक्कासि दिदीको कल आयो । दिदीले एकै सास मा भन्नु भयो “ओइ प्रदिप को कस्तो नराम्रो खबर आइराछ, एकचोटी बुझ्न” प्रदिप मेरो ठुली आमाको एक्लो छोरो । त्यो समयमा दुबइ मा कामको शिलशिलामा गएको थियो । दुइ तिन दिन अगाडी मात्र कुराकानी भएको भाइलाई म्यासेन्जरमा फोन गरें लागेन । उसले दिएको मोबाइल नम्बरमा फोन गर्दा भोइस मेसेज छोड्ने आदेश बाहेक केहि आएन । मनमा बिस्वास लागेको पटक्कै थिएन । त्यसैले पनि दुइ तिन दिन सम्म कोशिस गरिरह्यौं र अन्तत: प्रदिप भाइले हामीलाई सदाका लागि छोडेर गएको कुरा पक्का भयो । कोभिडको समय भएकोले जताततै मृत्युको सिजन चलिरहेको थियो । यस्तो मा आफुले पनि परिवार को सदस्य गुमाउनु पर्ला सोचेको सम्म थिएन । राजदुताबास मा इमेल गर्यौं इमेल मार्फत कर्मचारीले मृत्यु भएको कुराको प्रमाण पठायो । त्यो समयमा विदेश मा रहेका थुप्रै नेपाली हरुले ज्यान गुमाइरहेका थिए । नेपाल सरकार ले केहि लाश हरु समेत देश भित्र्याई रहेको थियो । प्रदिप को लाश लाइ पनि स्वदेश फिर्तीको लागि आग्रह गर्यौं तर कोशिस असफल भयो र विश्वास नलागी नलागी पनि अब उसले छोडेर गएको नै हो भन्ने विश्वास मा परिवार रहन बाध्य भयो ।

प्रदिप भाइलाइ गुमाएको पिडा बिर्सिएको होइन । तर महसुस यत्ति भयो कि आफ्ना हरु गुमाएको कुरा पत्याउन चै धेरै समय नै लाग्ने रहेछ । एक त् परिवार को सदस्य त्यसमाथि युवा अवस्था को अनि अझ लाश समेत देख्न नपाएको, अझै पनि लाग्छ, कतै फर्केर पो आइहाल्छ कि?

देखिएका र भोगिएका सप्पै कुरा स्मृतिपटमा राख्ने हो भने यो दिमागको पनि मेमोरी फुल भैजाँदो हो । त्यसैले होला हामि मानव जाती मा राम्रो गुण छ बिर्सने । समयले जत्ति चोट दिए पनि समय संगै बिर्संदै जान्छौं पनि । तर यो बिर्साईलाई सम्झाइरहने समय भएपछि बिर्सेर मात्र पनि चोट हरु नसेलाउने रहेछ । भर्खरै भएको 9N ANC यति एयर्लाइन्स को दुर्घटनाले फेरी मृत्यु लाई सम्झन बाध्य गरायो । सामाजिक संजालमा छाएका ति तश्वीर र भिडियोले “मृत्यु सुन्दर हैन, भयानक हुँदो रहेछ” भन्ने विस्वास दिलायो । मृत्यु को कुरा गर्न सजिलो छ, तर मृत्यु वरण गरिसकेपछि छुटेका जीवितहरुलाई रहेछ पिडा हुने । हामीलाई जस्तै होला सायद ति परवार गुमाउने हरुलाई पनि, समयले झस्काई झस्काई घाउ पुरिदिने पनि अनि सम्झाइरहने बल्झाईरहने पनि ।

Posted in My Article, Uncategorized | Leave a comment

सम्झनाका कुराहरु!!!

जीवनलाई सरल हिसाबले बुझ्ने हो भने जीवन एक यात्रा हो भन्दिए पुग्छ ।यसै पनि मलाई जटिल कुराहरु सँग त्यत्ति धेरै मोह छैन । मानिसहरुले सरल लाई जटिल बनाएर महत्व बढाएको भन्ने भ्रम मा पर्छन । म एक जो छु सरल छ त मलाई नत्र अरुलाई । जटिल त् मलाई हिसाब लाग्छ जो कुरा गणितीय हिसाबले सोच्नु पर्ने हुन्छ ति सँग भागेर नै बिताइदिए यत्ति लामो जिन्दगानी ।

यात्रा भनेपछि हिन्नु पर्ने हुन्छ । हिन्नु पर्ने कुद्नु पर्ने उड्नु पर्ने । जे होस् वैज्ञानिक हिसाब ले भन्नु पर्दा चाल पनि होस् र त्यहाँ दुरी पनि पार गरिएको होस् । यौटा गति होस् ।

दुरिहरु पार गर्दै गर्दा चाहेर पनि सबै संगै नभइने रहेछ। संगै नहुनुको पिडा एकातिर छ अनि अर्को तिर आज आएको जस्तो चाड पर्व आउँदा घर मा आमाको मलिन आवाज । मन कटक्क पार्न अरु के चाहिन्छ र? अरुको कुरा छोडौ जीवन मा बा आमाको मलिन अनुहार हेर्नु जतिको पिडा दाई क्षण केहि नहुने रहेछ । प्रेम व्यक्त गरेको पनि थाहा छैन प्रेम गर्छु भन्ने सोचेको पनि थाहा छैन तर पत्तै नपाई गरिएछ भन्ने भान जरुर छ । बा आमाले प्रगति गर्न घर छोड्न लगाउदै गर्दा यौटा भ्रम पनि हामीमा छरिदिएछन् जस्तो लाग्छ कहिलेकाही । त्यो भ्रम के भन्दा उनीहरुलाई हाम्रो सपना को पर्वाह यत्ति छ कि मानौं ति हिम्मत हरुको हिम्मत गर्न पनि पछि पर्दैनन् । यसै बीच मैले पनि केलाउन बिर्सेछु कि कुनै बेला बा पनि कम्जोर हुन् सक्छन । कुनै बेला आमा पनि कमजोर हुन् सक्छिन । खासै टाढा हैन तर दौडेर जान नसक्नुको पिडा अर्को तिर बेग्लै तरिकाले बसिरहेको छ ।

यो माघे संक्रान्ति चाड आयो कि परिवार को बेग्लै तरिका को याद आउँछ मलाई । यौटा संगोल को परिवार । खोइ कता हो कता बाट खोजिएर ल्याइएको वन तरुल, जसले विशेष स्थान ओगटेर बसेको हुन्थ्यो । साथ मा घर तरुल, इस्कुसको जरा अनि ति खाँदै गर्दा कुरा आउने अर्को तरुल । माघे संक्रान्ति मा सप्पै तरुल साथ् मा हुने, तिनको स्वाद पनि मजाले लिन पाइने तर त्यो यौटा तरुल जसको कुरा सधै निस्के पनि खान त्यस्तो धेरै नपाइने । कथा मा हजुर आमा भन्नुहुन्थ्यो उहिले चाक्रोन्ढ़ीमा ले अरुले नखाओस भनेर त्यो तरुल भित्र आफ्नो कपाल हालिराखेको रे । पुराना कथा सुन्नुको मजा नै बेग्लै लाग्छ। धेरैले याद गर्ने र लोभ गर्ने उमेर भनेको युवास्था भए पनि सबै उमेर को आफ्नै महत्व हुन्छ जस्तो लाग्छ । अज्झ बढी त् बालापन मा आफ्ना बाजे बोजु सँग काट्न पाउनु भनेको अलग्गै भाग्यमानी हुनु हो झैं लाग्छ

अरु बेलाको जाडो बेग्लै तर माघे संक्रान्तीको जाडो अचाक्ली हुने जाडो हरुमा पर्थ्यो हाम्रो लागि । दिदीहरु बेलुकी को खाना सबैलाई खुवाई सक्नु भएपछी जुठा भाँडा माझेर त्यो संगै तरुल सफा गर्नुहुन्थ्यो । बिजुली बत्ति नआइसकेको त्यो बेला टुकी बत्ति ले धान्न मुस्किल पर्थ्यो । कहिले मट्टीतेल अभाव त् कहिले चल्ने वतासले गर्दा धारामा बत्ति लैजान प्राय असम्भव नै हुन्थ्यो । घर पछाडीको धारामा चिसो मौषम र अँधेरी मा धोई पखालिएका ति तरुल बिहान झिसमिसे उज्यालो नहुँदै बसाल्नु पर्थ्यो । यसरि पकाउँदा कहिले कहिँ तरु मा भएका माटो राम्रो पखालिएको हुँदैनथ्यो । र फेरी दीदिहरुले गालि खानु हुन्थ्यो । वन तरुल काँचोखानु पर्छ भन्ने मान्यता थियो खाने मात्र हैन त्यसैको टीको पनि लगाउने चलन थियो । कुनै दिन झुक्किएर वन तरु काँचो राख्न बिर्सनुहुन्थ्यो र एक किसिम को नमजा छाउंथ्यो घर मा । काँचो मात्र हैन तिनै वन तरुल पोलेर त्यसको पनि कालो तिको लगाउने चलन हुन्थ्यो । कहिले मामा हरुले आफैले पोलेको वन तरुल आगो बाट खरानी झिक्ने मान्छेले कता कता पुर्याई न्थे र खोजि कार्य खुब चल्थ्यो अगेनामा ।

मानिस हरु सम्झना बटुल्न कहाँ कहाँ जाँदैनन र? कहिलेकाही म पनि मानिस हरुको सम्झना आए उनीहरु सँग रहंदा गएका ठाउँ हरु जान्छु त्यहाँ चल्ने वतासको मन भरिने गरेर स्पर्श गर्छु र फर्कन्छु । माघे संक्रान्ति मा मलाई जान मन लाग्ने ठाउँ भनेको नै काठमाडौँ को साँखु हो । मलाई त्यो ठाउँ मा जाँदा आफ्नो बैदार बजेको याद मेटिएको जस्तो लाग्छ । सानोमा श्री स्वस्थानी को कथा सुनेर हुर्किंदै गर्दा ति गोमा का घर ति नवराज राजा, मनैमा बस्दथे । चिसो मौषम अलैंची को सिजन अरु सबै अलैंची छोडाउन तर्फ लाग्ने मामा हरु भट्टी मा अलैंची सुकाउन तर्फ अनि बैदार बाजे को आफ्नै सुर । बाँस को लिङ्गो काटेर ल्याई श्री महादेव को पुञ्ज गर्न बालुवामा बेल राखी लिङ्गो स्थापना । घर माथि को फुल बारी । अझै ति दिन सम्झेर कहिले हाँस्छु अनि कहिले रुन्छु पनि । घर मा यौटा कुकुर थियो । बच्चु नाम गरेको । हजुरबा मध्यान्ह को १२ बजे शिव लिंग मा अमृत चढाएर फर्किनुहुन्थ्यो । बच्चु ले दुध को बास्ना आएर त्यसलाई खोताल्थ्यो र बालुवामा राखिएको बेल यता उता पुर्याई दिन्थ्यो । त्यो देखेर हजुरबा रिसाउनु हुन्थ्य्यो हामी मजा लिन्थ्यौं बस । यो जाडो महिना लागे पछि घर मा हुने कुरा हरु यस्तै रमाइलो हुन्थ्यो । पुष पाक्य माघ खाइ गर्नु पर्ने भएकोले पौष मसान्त मा घर मा दिदिहरुलाई अलिक बढी हतारो हुन्थ्यो । यसै पनि जाडो मौषम । पानि छोई नसक्नु चिसो । विहान पर्ने शीत ले सेताम्मे डाँडोहरु । निगालो काटेर बनाइएको नाम्लो र हँसिया बोकेर भुटेको मकै खाँदै उकालो चढ्नु। शीत ले कठ्यान्ग्रिएर् लगाउन नामिम्लने गरि बटारिएको प्लास्टिक को जुत्ता आगो मा सेक्न मन हुँदा हुँदै पनि बैदार बाजेले राख्नुभएको नियम “घर भित्र जुत्ता चप्पल निषेध” ले गर्दा हिम्मत न आएर जबर्जस्ति खुट्टा खाँदेर हिंड्नु । जीवन छुट्टै थियो त्यति बेला । पश्चिम फर्केको जग्गा भएकोले ढिला घाम पर्नु अनि जाडोमा अम्लिसो घाँस काट्नुको पिडा अलग्गै । अर्जाप्न जान नभ्याएर भुत्ते भएका हँसिया बल लागे लागे अम्लिसो काट्दा शीत ले धारिलो भएर बसेका अम्लिसोका पात ले कतिबेला पाखुरा कोतरिसक्थ्यो पत्तो पाइन्नथ्यो । दिउँसो घाम ले पसिना परेर पोल्दथ्यो त्यति बेला मात्र महसुस हुन्थ्यो विहानी को चोट ।

लहर तान्दा पहरा गर्जियो भनेजस्तै छन् यी सम्झना का तानाबाना हरु पनि । म घर सम्झन खोज्दै थिएँ । पुराना दिन ले यत्ति लखेट्यो कि यहाँ व्यक्त नगरी बस्न पनि सकिएन । अँ प्रसंग थियो माघे संक्रान्ती र बैदार बाजे को । अनि श्री स्वस्थानी परमेश्वरी को पनि । जाडोमा सबै काम मा लागेपछि हजुरबा ले हामी नाति नातिनी लाइ सहारा बनाएर श्री स्वस्थानी परमेश्वरी को कथा पढेर सुनाउनुहुन्थ्यो । बैदार बाजे उसो त् धर्म कर्म भनेपछि हुरुक्कै नै हुनुहुन्थ्यो । सुक्सागर गीता लिएर आँगनी मा बसेर अध्ययन गरिरहनुहुन्थ्यो । हामि काम गर्दा यता उता हिंड्दा देख्नुभयो भने बोलाएर ति पुस्तक मा भएका भगवान का तश्वीर मा ढोग्न लगाउनु हुन्थ्यो । स्वस्थानी को कथा सुनाउनु हुदा पनि पहिले ति भगवान का फोटो हरु ढोग्नु पर्थ्यो अनि मात्र कथा पढ्न शुरु गर्नु हुन्थ्यो वहाँ । केहि गरि पुस्तक का बीच मा भगवान का फोटो आए, ति नढोगी अर्को पन्ना जान मनाही थियो । भगवान ले पनि बुझ्ने भाषा हुन्छ भन्ने वहाको बेग्लै मान्यता थियो । बिहान पुजा कोठामा हजुरबा र हजुर आमाको बेग्लै युद्ध चल्थ्यो युद्ध पुरै झगडा को होइन माया को । हजुर आमा विहानै उठेर पँधेरो मा गइ शुद्ध भएर जल लिएर आउनु हुन्थ्यो अनि दियो कलश सबै सफा गरेर पुजा गर्नुहुन्थ्यो । त्यस पछि ८-९ बजे तिर हजुरबा उठ्नुहुन्थ्यो र वहाँ को पुजा शुरु हुन्थ्यो । हजुर आमाले राई भाषामा गर्नुभएको पुजा भगवान ले बुझेनन् भनेर वहाँ ले फेरी संस्कृत को मन्त्र पढेर शुरु गर्नुहुन्थ्यो । जोसै जोस मा हजुरबा ले ताजा फुल सबै टिपेर भगवान लै चढाउनु हुन्थ्यो । घर छेउ मा गुराँस र चाँप फुल्ने बेला भएपछि गाउँ का दाइ हरुलाई टिप्न लगाएर ति भगवान लाइ चढाएपछी मात्र मन शान्त पारेर बस्नु हुन्थ्यो ।

भगवानलाई के कसरि पुजा गर्ने, वहा को आफ्नै छुट्टै योजना रहन्थ्यो । कुनै सुन्दर फुल फुले त्यो भगवान लाई नचढाएसम्म वहाँ लाई शान्ती नै मिल्दैनथ्यो । स्वस्थानी को व्रत नबसेको कुनै वर्ष हुँदैन थियो । वहाँ को लागि भनेर परिवार नै जुटेर व्रत सेलाउने दिन तयारी मा जुटीदिनु हुन्थ्यो । हामि केटाकेटी लाई कथा सुन्न पाउनुको मजा बेग्लै त्यसपछि को प्रसाद को आनन्द बेग्लै अनि अझ अन्तिम दिन मा हुने पुजा आजा अज्झ त्यसमा खान पाइने सेल रोटि । केटाकेटी हुनुको आनन्द के हो भन्ने खुब भोगिन्थ्यो । मिठा कुराहरु आफ्नो भाग बाट अलिकति चिमोटेर नाति नातिनीलाई नदीइ चित्त नबुझ्ने बाजे । अनि हामि वहाँ को माया पाएर त्यसै पुलकित ।

यस्तो सुन्दर बालापन मा सुनेका श्री स्वस्थानी का कथा दिमाग मा कति गाढा बसेछ भन्ने आज भोग्दैछु । आज पनि साँखु को मेला जान्छु त् केवल ति बालापन को याद मेटाउन जान्छु । मलाई बालापन मा कथा सुन्दा महादेव ले सतीदेवी को लाश बोकेको कुरा सुन्दा नमिठो लागे पनि गोमा ब्राम्हानी सम्म कथा आइपुग्दा अर्कै संसार मा आएजस्तो लाग्थ्यो । श्री महादेव लै पार्वती ले पाउँदा को आनन्द । श्री महादेव ले भित्ता च्यातेर देखाउनुभएको कैलाश पर्वत । अनि गोमा ले दु:ख पाउँदा वहा ले गर्नुभएको उद्दार । जगत अलग्गै थियो त्यता को । आस्था र श्रद्दा छंदैछ तर यो संगै साँखु मा जाँदा बैदार बाजेको याद आउनु अल्ली बढी नै अर्थ लाग्छ मेरो लागि । ति सम्झना यत्ति गाढा बसेछन कि आजपनि माघे संक्रान्ति आउँदा श्री स्वस्थानी को व्रत को कुरा आउँदा म त्यहीं बालापन मा पुग्छु भौतिक रुप मा जीवन को पुरानो भोगाई भोग्न नपाए पनि तिनको प्यास मेटाउन साँखु जान्छु टहलिंछु र फर्किन्छु ।

Posted in My Article, Uncategorized | Leave a comment

साथ हरु!!!

कहिले काहिँ म सम्झन्छु
यौटा यस्तो मिट्ठो साथ होस्
अरु केहि नहोस्
तर सम्बन्धमा न्यानोपना रहोस्

जंगल को बाटो
वरिपरी रुख हरु
हात मा उस्का हात हरु
औंला हरु एक अर्कलाई बेरिएका
एक्साथ को कदम्
मौन
तर पत्कर हरु टेकिएको आवाज्
केही नबोलि
धेरै बुझिएको
केही नभनि
सप्पै स्पष्ट भएको!!!

पहाड हरु अग्लिए अग्लिउन्
बाटो हरु लम्बिए लम्बिउन्
हतारो कत्ती पनि नभैइ
एक लामो सास को भर मा
निरन्तर निरन्तर्
उस्का र मेरा पाइला हरु!!!


हामी हिंड्ने दिसा हाम्रो यात्रा
हामी पुग्ने ठाउँ हाम्रो गन्तव्य । । ।
हामी बस्ने स्थान हाम्रो घर्
हामी रहने माटो
हाम्रो ठेगाना!!!

उस्का आँखा हरु
मेरा प्रश्न का जवाफ्
उस्का हात हरु
मेरो अघी बढ्ने आड्
बस न्यानो रहोस्
उस्का र मेरा हात हरु!!!
उस्का र मेरा साथ हरु!!!

Posted in Poem, Uncategorized | Leave a comment

विराम्!!!

अघोषीत कुराहरुको लागी
म के नै बोल्न सक्छु र ?
यो कथा, मेरो मात्र थिएन
पात्र तिमी पनि थियौ
तर
कथा अगाडी बढ्यो
म अगाडी बढेँ
तिमी खोइ थाहै भएन
कहाँ सम्म आइपुज्ञौ
र कहाँ बाट बाटो मोड्यौ । । ।

म त हात समाएर
यात्रा काटौँ भन्दै थिएँ
मैले बुझे सम्म
मेरा इशारा हरु
अरु सप्पैले बुझिसकेका थिए
खोइ तिमीलाई हिम्मत कहाँ नेर आएन
या सायद मेरा इशरा स्पष्ट आइपुगेन
मैले बिसौनिमा पुग्दा
मेरो एक्लो पाइला बिश्राम गरे । । ।

गन्तव्य कहाँ भनौँ ?
जहाँ सम्म तिमी र म हिड्यौ ?
या यात्रा हिन बाटोमा
कुनै बिन्दु थिएन भनौँ ?
के निष्कर्स निकाल्न
हरफ हरु नै चाहिन्छ र ?
शब्द शब्द टिपेर भएपनि
तिमीले नै बुँदा बनाइदिँदा पनि त हुन्थ्यो नि

तर भैगो
अब आश पनि मारेँ मैले
अघोषित थियो शुरुवात्
अन्त्य लाई घोषणाको के जरुरत पर्छ र ?
कहिलेकाहिँ हेरौँला
र भनौँला
कुनै यस्तो दिन थियो
म मुस्कुराउन
तिमीलाई हेरे पुग्थ्यो!!!
म खुशी हुन
तिमी आइदिए पुग्थ्यो!!!

Posted in Poem | Leave a comment