मृत्युका कुरा!!!

कहिलेकाहीं म यसो घोत्लिन्छु, मृत्युको परिभाषा ठ्याक्कै के हुन्छ होला ? मृत्यु मजाक होइन । मृत्यु यौटा यस्तो क्षण, जसले भेट नहुने गरेर बिछोड गराई दिन्छ । मर्नु फरक कुरा अनि मृत्यु फरक कुरा ।

मर्नु मार्नु लाई हिँसा तर्फ नजोडी हेर्ने हो भने मान्छे ले आफु जिउँदो रहंदा पनि थुप्रै कुरा मारेका हुन्छन । भलै ति भौतिक मृत्यु वर्णन गर्दैनन् तर अदृश्य कुरा हरुको पनि बिट मारिदिन्छन । जस्तो मन मार्नु, माया मार्नु । नदेखिने कुरा हरुको अन्त्यलाई मृत्यु नाम दिएर बिट मार्नु ।

यथार्थ कुरा गर्नु पर्दा मृत्यु यौटा सत्य हो । साहित्यिक कुरा गर्नु पर्दा मृत्यु सुन्दर कुरा हो । भावनात्मक दिशा बाट हेर्दा मृत्यु मन छिया छिया पारिदिने हतियार हो । कहिलेकाहीं जोसै जोस मा भानिन्छ, एकदिन मरिहालिन्छ के लाई पिर गर्नु । कहिलेकाहीँ कसैलाई सताउन भानिन्छ, म मरेपछि था पाउछौ । अक्सर मृत्यु को कुरा नगर्ने कोहि हुन्नन् । तर मृत्यु वरण गरेर कोहि जाँदै गर्दा स्वीकार्न पनि सक्दैनौं । सायद भावना हरुले मन भरिएपछी यथार्थ हरु अलिक ओझेल पारिदिन्छन होला ।

वालाचतुर्दशीको दिन आफ्नो बैदार बाजे बित्नुहुँदा पहिलो पल्ट मृत्यु सँग नजानी आमनेसामने हुन् परेको थियो । बाजेलाई लैजाँदै गरेको बाकस र ओढाइएको सेतो च्यादर बाहेक केहि देखेकी थिएन मैले । त्यो भन्दा अगाडी नेपालटार स्कुल पढ्दै गर्दा एक जना दिदीले गर्नुभएको आत्महत्या को समयमा लाश प्रत्यक्ष देख्न पाएकी थिएँ । आफ्ना हरुलाई गुमाउनुको पिडा के हो भन्ने मैले आफ्नो बाजे लाई गुमाउंदै गर्दा भोगेकी थिएँ ।

परिवारको सदस्यलाई गुमाउनु पर्दा पर्ने त्यो खालीपन र त्यसले दिने पिडाहरुले बढी सताउने रहेछ मान्छेलाई । त्यतिबेला म रेडियोमा काम गर्थें । फिक्कल इलामको बसाई । कहिलेकाहीं आफ्नो ड्युटी बाट फुर्सद मिल्दा पशुपतिनगर सम्म हिंडेर गईन्थ्यो । चियाका बुटाहरुले भरिएको थुम्का हरु घामको न्यानो तापेर आनन्दले बसेका हुन्थे । छेवैको लम्पसार परेको नागबेली बाटोमा हामि रमाउन्थ्यौ । जिन्दगानी सुखमय थियो । एकदिन अचानक रेडियोमा बाहिर हल्ला खल्ला चल्यो । बाहिर निस्केर हेर्दा रेडियो नजिकै घर बनाउन बसेका मिस्त्री हरु रहेछन । उनीहरु भन्दै थिए “निमेष दाई त छैन” रेदियोकी बहिनि नबुझेर सोध्दै थिइन् “कहाँ जानुभयो र?”

उनीहरु अक्क न बक्क परेको देखेर हामी हड्बडियौं। उनीहरुले इशारा गरेको स्थान मा गयौं । संगै गएकी बहिनीले दाईको नाडी छामिन । चिसो भैसकेको मान्छेको नाडी किन पो चल्थ्यो र?

निमेष दाई गणेश रसिक सरको सुपुत्र हुनुहुन्थ्यो । हामि आत्तिएका थियौं । परिवार काठमान्डुंमा भएको र निमेषदाई र रसिक सर मात्र इलाम मा बसिरहनुभएको थियो । हामीले वहाँलाई खबर गर्न खोज्यौं तर फोन सम्पर्क हुन् सकेन । सिमाना पारी जानुभएकोले गर्दा फोन लागिरहेको थिएन । त्यसैले हामी वहाँ लाई लिन पशुपतिनगर तर्फ लाग्यौं । सधैँ आरामले रमाई रमाई हिन्ने बाटोमा त्यो दिन हामि स्तब्ध थियौं । खोज्न त् निस्केका थियौं तर भेटेपछि के भन्ने कुनै उपाय थिएन । युवा अवस्थाको आफ्नो छोरो अब नरहेको खबर दिन सायद ठुलै हिम्मत चाहिन्छ । तर हामि सँग उपाय पनि थिएन । र पशुपतिनगर को सिमाना मा गएर रेकर्ड हेर्यौं । त्यहाँ बात थाहा भयो वहाँ सिमाना पारी नै हुनुहुँदो रहेछ । वहाँ लाई लिएर फर्कियौं भन्यौं दाइलाई गाह्रो भएर लिन आएको । बाटामा वहाँ भन्दै हुनुन्थ्यो “अब निमेषलाई बिराटनगर अस्पताल लैजान पर्छ, तपाईं हरु पनि साथ् जानु पर्छ है” हामि तिन जना नबोली नबोली पछाडी बसिरहेका थियौं । अलकत्रे बाटो सकिएपछि हिंडेर अलिक तल झर्नु पर्थ्यो । त्यो ओरालोमा पनि वहाँ भन्दै हुनुन्थ्यो “मान्छे हरु यत्ति धेरै किन जम्मा भाको होला, जाबो बिरामी त भएको हो नि”

सेतो च्यादर ले ढाकिएको शरीरलाई दुइ तिन फेर बोलाउनु भयो,उत्तर नमिलेपछि झकझकाउनु पनि भयो । निमेष दाइ हामीलाई कति हो कति बेला छोडेर गैसक्नु भएको थियो । चुपचाप आफ्नो घरको सिकुवामा गएर यौटा पिता हुनुको धर्म निभाउनु भयो वहांले ।

हिजोसम्म हाँसखेल संगै गरेको दाई एक्कासि अस्ताउनु हुँदा हामीलाई पनि बिस्वास लागिरहेको थिएन । संगै माछा मारेको । रेडियो मा सँगै देउसी भैलो खेलेको । दाइको किताबी कुरा सुनेको । फिक्कल को चिसोमा दाइका नसकिने गफ अनि बाहिर को चिसो सिरेटोले कठ्यान्ग्रिएको हाम्रा हात खुट्टाहरु । विश्वास नलाग्दा पनि सत्य भन्ने सत्य नै हुने रहेछ। तल बग्ने जोगमाई छेउको खोलामा वहाँ लाई सेलाएर आयौं नमजा मान्दै मान्दै ।

जिन्दगि ले यतिसम्म ल्याउदै गर्दा मृत्यु का थुप्रै कुरा सुनिए । तर समय संगै बिर्सदै पनि लगियो । जति बिर्सियो समय समय मा बार बार सम्झना दिलाई रह्यो पनि । २०७२ को भूइंचालो मा पनि मृत्युलाई नजिक बाट देख्न पाइयो । जीवन को महत्व कति छ भन्ने मज्जा सँग ले भोग्न पाइएको थियो । त्यसको लामो समयको अन्तराल पश्चात कोभिड छायो संसार भर । त्यसमा पनि जीवन को महत्व पुरै बुझ्ने गरेर मृत्यु लाई महसुस गर्न पाइयो ।

कोभिड कै समय थियो, एकदिन एक्कासि दिदीको कल आयो । दिदीले एकै सास मा भन्नु भयो “ओइ प्रदिप को कस्तो नराम्रो खबर आइराछ, एकचोटी बुझ्न” प्रदिप मेरो ठुली आमाको एक्लो छोरो । त्यो समयमा दुबइ मा कामको शिलशिलामा गएको थियो । दुइ तिन दिन अगाडी मात्र कुराकानी भएको भाइलाई म्यासेन्जरमा फोन गरें लागेन । उसले दिएको मोबाइल नम्बरमा फोन गर्दा भोइस मेसेज छोड्ने आदेश बाहेक केहि आएन । मनमा बिस्वास लागेको पटक्कै थिएन । त्यसैले पनि दुइ तिन दिन सम्म कोशिस गरिरह्यौं र अन्तत: प्रदिप भाइले हामीलाई सदाका लागि छोडेर गएको कुरा पक्का भयो । कोभिडको समय भएकोले जताततै मृत्युको सिजन चलिरहेको थियो । यस्तो मा आफुले पनि परिवार को सदस्य गुमाउनु पर्ला सोचेको सम्म थिएन । राजदुताबास मा इमेल गर्यौं इमेल मार्फत कर्मचारीले मृत्यु भएको कुराको प्रमाण पठायो । त्यो समयमा विदेश मा रहेका थुप्रै नेपाली हरुले ज्यान गुमाइरहेका थिए । नेपाल सरकार ले केहि लाश हरु समेत देश भित्र्याई रहेको थियो । प्रदिप को लाश लाइ पनि स्वदेश फिर्तीको लागि आग्रह गर्यौं तर कोशिस असफल भयो र विश्वास नलागी नलागी पनि अब उसले छोडेर गएको नै हो भन्ने विश्वास मा परिवार रहन बाध्य भयो ।

प्रदिप भाइलाइ गुमाएको पिडा बिर्सिएको होइन । तर महसुस यत्ति भयो कि आफ्ना हरु गुमाएको कुरा पत्याउन चै धेरै समय नै लाग्ने रहेछ । एक त् परिवार को सदस्य त्यसमाथि युवा अवस्था को अनि अझ लाश समेत देख्न नपाएको, अझै पनि लाग्छ, कतै फर्केर पो आइहाल्छ कि?

देखिएका र भोगिएका सप्पै कुरा स्मृतिपटमा राख्ने हो भने यो दिमागको पनि मेमोरी फुल भैजाँदो हो । त्यसैले होला हामि मानव जाती मा राम्रो गुण छ बिर्सने । समयले जत्ति चोट दिए पनि समय संगै बिर्संदै जान्छौं पनि । तर यो बिर्साईलाई सम्झाइरहने समय भएपछि बिर्सेर मात्र पनि चोट हरु नसेलाउने रहेछ । भर्खरै भएको 9N ANC यति एयर्लाइन्स को दुर्घटनाले फेरी मृत्यु लाई सम्झन बाध्य गरायो । सामाजिक संजालमा छाएका ति तश्वीर र भिडियोले “मृत्यु सुन्दर हैन, भयानक हुँदो रहेछ” भन्ने विस्वास दिलायो । मृत्यु को कुरा गर्न सजिलो छ, तर मृत्यु वरण गरिसकेपछि छुटेका जीवितहरुलाई रहेछ पिडा हुने । हामीलाई जस्तै होला सायद ति परवार गुमाउने हरुलाई पनि, समयले झस्काई झस्काई घाउ पुरिदिने पनि अनि सम्झाइरहने बल्झाईरहने पनि ।

This entry was posted in My Article, Uncategorized. Bookmark the permalink.

Leave a comment