बाहिर हुरी चलिरहेको थियो!!!

हिजै मात्र टन्टलापुर घाम लागिरहेको काठ्माण्डौ आज एक्कासी हुरी वतास र झारी बर्सिन थालेको थियो । ट्युबलाईटको उज्यालोमा म मनमा के के कुरा गुन्दै बसिरहेकी थिएँ, सायद बाहिर जस्तै मन भित्र पनि हुरी चलिरहेको हुनुपर्छ!!!
कुराहरु तँछाड र माछाअड गर्दै अँटी न अँटी आइरहेको बेला झाल्यास्स मनले बाटो बिराइदिन्छ, के हुन्थ्यो होला यदी म मरिदिएको भए ?हुन त सँधैभरी के नै हुन्थ्यो होला, तर एक पल लाई सबै थोक हुन्थ्यो होला, मेरी आमा रुन्थिन होलि,बा निराश हुन्थे होलान्, मेरो भाई हतास हुन्थ्यो होला अनि दिदी के गर्ने के नगर्ने भनेर अन्कनऔँथिन होली आत्तीनछिन होलि!!! त्यो बाहेकको दुनिया ? ? ? त्यो बाहेक अरु दुनिया के नै गर्थे होलान र ? जती गुमाउनु मेरो परिवार ले गुमाउथ्यो होला, उनिहरु त एकछिन लाई छक्क परेजस्तो गर्थे होलान पछी आफ्नै सन्सार मा विलिन्!!!

मन पनि के के सोच्न पुगेको होला ? यो मन को पनि काम छैन,म आफुलाई सम्हाल्न खोज्छु, तर भनेबेला सम्हालिन सक्ने मन कहाँ हो र मेरो ? फेरी सम्झान मन लाग्छ उसैलाई!!! म मरेको खबर र आँखै अगाडी मेरो लाश देखे उ के गर्दो हो ? जान्न मन लाग्न यो, भन्नलाई त सँधै भनिरहन्छ “म तँलाई माया गर्दिन” फोन पनि कहिल्यै गर्दैन र मैले गरेको उठाउँछ वस यत्ति!!! हुनत स्कुल मा उसले पढाउने ठाउँको केटिले मरिहत्ते गर्छे भन्ने सुन्नमा आएको हो, सायद उ पनि उसलाई मन पराउँदो हो नत्र किन मलाई यती धेरै वेवास्ता गर्दो हो र ? कहिलेकाहिँ लाग्छ म उनिहरु बिच मा कतै आएँ कि ?

त्यो केटिलाई मैले हाम्रो सम्बन्ध को बिच मा न आउन भ नि थुप्रै आग्रह नगरेकी पनि हैन, बेला बेला सम्झाइरहँदा पनि आफ्नै मान्छे उसको पछी लागेपछी मैले के गर्न सक्छु र ? यस्तो मामलामा सहन बाहेक अर्को विकल्प नहुँदो रहेछ ।  मर्ने बेला अन्तिम इच्छा लेख्न खुब मन लागेर आयो । मन मनै त्यस्को खाका पनि तयार गरेँ, उसो त आँखामा झालझाली सबैको तश्विर न आएको हैन,भाइलाई सम्झेँ उसको अगाडी बढ्ने हिम्मत भनेको म नै थिएँ, के गर्दो हो बि चरा सम्झेर उदेक लाग्न यो, कोही उसलाई सम्झाइदिनु जिन्दगानी हिम्मत हारेर हैन निराशा मारेर अगाडी बढ्छ भनेर्!! यत्ती भनिदिने कोही हुँदो हो त म ढुक्क हुने थिएँ, निराश बा र आमलाई पो के भनेर सम्झाइदिँदा हुन्!!! दिदी आफ्नो बाटोमा लागिसकेकी छिन उनलाई सम्झाइरहन नपर्नु पर्ने हो!!! उसो त भिनाजु छँदैछन सम्झाउँदा हुन तीन ले पनि!!बहिनी छिन काकाको छोरी उनि ले पनि सम्झाउँदी हुन कसैलाई, तर मलाई भनेर जिन्दगी कुर्ने मेरी फुपु, भविश्य सम्झेर म मा लगानी गर्ने मेरा मामा सबै थोक जुटाउने मेरा बा आमा!!! कठै ति त जिउँदै मरेजस्तो होलान्!!!

म मरिसकेपछी मेरा सामान हरु के होलान ? मैले किनेको किताब हरु घर भरी संगालेर राखेका ति विपी का उपन्यास हरु, आफ्नै लाग्ने जस्तो गरेर राखेको सुम्निमा उपन्यास्,दृश्य जस्तै प्रेमी आए हुन्थ्यो भनि कल्पना गर्दै राखेको पाल्पसा क्याफे उपन्यास अनि गिता पढ्ने रहर भएर ल्याइएको त्यो पुस्तक्!!! के मेरो लाश सँगै ति जलाउलान त ? म आत्मा भएर हेरिरहँदो हुँ ति सबै कार्य, वस उनिहरु मलाई नदेखेर आत्तिँदा हुन्!!

ढ्याम्म झ्याल लाग्छ!!! एकछिन कान डुम्म भएजस्तो हुन्छ!! झासङ्ग हुन्छु! ओहो म यो के सोंचिरहेको होला, यस्तो कसरी सोंच्न सकेको होला आङ सिरिङ्ग भयो! लौ अचम्म कोही कसैलाई हिम्मत दिने सँधै मेरो हिम्मत देखेर छक्क पर्ने मेरा बा!!! म जस्तो छोरी ले पनि कहिँ यस्तो गर्न सक्ला त ? आत्महत्या गर्ने त्यस्तो दुस्साहस कहाँ बाट पलाउँदो हो मलाई ? ? ? जुरुक्क उठेर बाहिर निस्किन्छु, झरी परेर थामिइ सकेको रहेछ, हुरी पनि चल्न छोडिसकेको रहेछ, मेरो मन जस्तै सफा भैसकेको रहेछ काठ्माण्डौ!!!

Posted in Uncategorized | Leave a comment

सत्य

धेरैले लेख्छन्

धेरैले देख्छन्
जिन्दगी यस्तो उस्तो भनेर
धेरैले भोग्छन्
कतिले रोक्छन्
आउनै लागेको आँधि
यो जो जस सँग सम्बन्धित छ
सायद उसले भोगिरहेको हुनु पर्छ
अन्यथा यतिविधी
लेखिरहन आवस्यक ठान्दिन म
अथवा भनौँ
देखिएकालाई
लेखिएकाले खास असार गर्दैन
यो मेरो अर्को
अघोर मान्यता भित्र पर्न आउँदछ
कतिले कस्तो भने

कतिले सस्तो पनि
कसैले दाँजेर
केहि जस्तो पनि भने
आखिर फरक के पर्छ र ?
मेरै आँखा भिज्छन नि हैन र ?
सत्य हरेक पल फेरिन्छन्
हरेक हेर्ने दृष्टिकोण सँगै
बदलिन्छन्
यौटै भरोसा त्यसैको थियो
त्यो त फेरिइरहन्छ भने
मैले धर्ती टेकिरहनुको
कुनै औचित्य छ र ?
कोही पाटो फेर्छन्
कोही बाटो
जसले जेसुकै फेरे पनि
आखिर मैले चाहे जस्तो त भएन नि!!!
म त अझ भन्छु
चाहना र बहाना
दुइ सिक्का का पाटा हुन्
जो परिपुरक छन्
धेरै कती हद सम्म्
पर्यायवाची छन्
त्यसैले त तिम्रा यि कुरामा
मैले बाटो छेकिन
अझ भन्न सक्छौ
सत्य कुरा लेखिन
आजकल मलाई सत्य सँग
कता कता नफरत लाग्छ
त्यो पनि त तिमी जस्तै
फेरिइरहन्छ!!!

@RaiRejina

Posted in Uncategorized | Leave a comment

क्षितिज!!!

“तपाइको नाम रेजिना हो ?”
कम्प्युटर को टेबुल मा आफ्ना दुबै हात अडाएर कोही मलाई हेरिरहेको थियो । म उसलाई हेरिरहेँ मानौँ म आफैमा छक्क परिरहेकी छु । त्यो अपरिचित ठाउँमा मलाई नाम सँगै चिन्ने गरी कोही आउँदा छक्क नपरौँ पनि कसरी ?

“अनी तँपाइ को नि ?”
“म नुफा”
उ यत्ती भनेर सरक्क त्याहाँ बाट हिँड्यो,कस्तो अजिब को मान्छे, बेफिक्री हिँडेको त्यसरि ?म उ गएको बाटो हेरिरहेँ । मलाई काम सकाउनु थियो ।खुरुखुरु आफ्नै काम मा लागिरहेँ, कतिबेला साँझ पर्‍यो पत्तै भएन, साँझ त्यही मान्छे मुस्कुराउँदै आएर अफिस मा भएका अरु स्टाफ हरुसँग खुलेर कुरा गर्न लाग्यो । म उसले म तिर हेर्ला कि भनि आश गर्दै बसिरहेँ बस उसले थाहा नपाउने शैलीमा ।  मान्छे पनि अचम्मका हुन्छन्, विहान आयो नाम सोध्यो, सोध्यो के भन्नु कन्फर्म गर्‍यो अनि आफ्नो बाटो लाग्यो, अहिले फेरी नआउनु आइसके पछी कम्तिमा बोलाउन नसकेनी मुस्कुराएर हेर्न त सक्थ्यो!!!म भित्र एक हिसाबको जलन हुन थालिसकेको थियो । म पनि बस उसलाई नदेखे झैँ गरी आफ्नो काम सकाउन तिर लागेँ ।
साँझ काम सकिसकेपछी म आफ्नो ब्याग उठाएर कोठा तर्फ जान भनि हिँडे,म हिँडेको देखेर उ पनि हिँड्ने तरखर मा लागिरहेको थियो, अफिसका स्टाफ हरुसित विदा मागेर उ मेरो पछी लाग्यो । म भने चुपचाप हिँडिरहेँ । बाटामा सामान्य कुराकानी भए, उसले मेरो डेरा सोध्यो र डेरामा को को बस्ने बारे बुझ्यो,वस यो भन्दा बढी उसले कुरा गरेन । हामी कोठा पुग्यौँ, मैले खाना बनाएँ दुबै जनाले खाना खायौँ र उ उसै गरी चुपचाप कोठाबाट हिँड्यो खै केहि प्रतिकृया नै नजनाइ!!!

उ प्रतिकृया विहिन भएपनी म भने निकै उत्साहित थिएँ उसलाई भेट्न पाएकोमा, भेट्न मात्र के भन्नु उ र म सँगै हिँड्न पाएकोमा र कम्तिमा एक छक भएपनी सँगै खान पाएकोमा दंग परिरहेकी थिएँ,उसको नाम धेरै सुनेकी थिएँ मैले, कविता लेख्थ्यो उ, पत्रीकामा धेरै उसका कविता पढेकी थिएँ मैले । देखेको पढेको थिएँ उसलाई शव्दमा तर प्रत्यक्ष देख्न भेट्न पाउँदा र अझ बढी त उ आफैले म सित बोल्न आउँदा र मैले नबोलाउँदा पनि उ सँगै कोठा छोड्न आएकोमा मन दंग थियो । मलाई यो भन्दाअ अरु खुशी हुन कुन कारण चाहिन्थ्यो र ? अर्को दिन अफिस गएँ,उसै गरी काम मा खटिएँ, कम्प्युटर टाइपिङ को काम त्यो बेला नाम चलेको कम्प्युटर सेन्टर थियो त्यो, काम धेरै भएकोले मैले अरु कुरा सोंच्न भ्याइन, बस साँझ कतिबेला पर्‍यो मलाई पत्तै भएन । कामको बेला पनि मैले उ आउने बाटो नहेरेकी त होईन तर त्यो समयमा ल्याण्ड लाईन फोन भन्दा बढी मोबाइल फोन को ज माना नरहेकोले म आफ्नो कौतुहलता लाई मन भित्रै कैद गरेर बस्न बाध्य भैरहेकी थिएँ । उसै गरी साँझ पु:न उसको आगमन भयो । उहि लामो जिउ डाल पातलो शरिर चञ्चल आँखा ओँठमा मुस्कान जो सँग पनि सजिलै कुरा गर्न सक्ने तर धेरै कुरा भने नगर्ने, उसको स्वाभाव खुबै मन पर्‍यो मलाई । साँझ उसलाई देख्न पाउँदा खै मन किन हो चंगा जस्तो उडिरहेको थियो । तर आज पनि आएर उ अफिसका स्टाफ हरुसँग कुरा गर्न थाल्यो,मलाई नदेखे झैँ गरी । सँधै जस्तै म काम सकाएर हिँड्न लागेथेँ उनिहरुको कुरा सुनेँ AB+ve रगत चाहिएको रहेछ,मलाई यहिँ बहानामा उ सित सबै सामु कुरा गर्न मन थियो तर हिम्मत जुटाउन नसकी लुसुक्क हिँडे र फेरी आज पनि उ मेरै पछी उसै गरी लम्किँदै आइरहेको थियो ।

उ धेरै कुरा भन्दैन थियो, जती भन्थ्यो सिमित भन्थ्यो,यस्तैमा एकदिन उ मेरो कोठामा अचानक आयो र मलाई उ सित हिँड्न भन्यो । कहाँ के कामको लागी मैले पनि सोध्दै नसोधी उसको पछी लागिदिएँ । उ थियो पनि वतास जस्तै, सजिलै सँग कहिँ कतै पुगिदिने!!! त्यो दिन कलेज मा मिटिङ रहेछ, तत्कालिन स्ववियु सभापती रहेछ उ, सँगै हिँड्दा सबै मलाई सम्मान सँग कुरा गर्दथे यो कुराहरुले गर्दा पनि म उ प्रती झन तानिँदै गैरहेकी थिएँ, चाहेर पनि म आफुलाई रोक्न सक्दिनथेँ मैले आफुले आफैलाई रोकिहालेँ भने पनि परीस्थिती मलाई तानेर उ भएको ठाउँमा पुर्याउँदथ्यो जिन्दगी खुब रमाइलो यस्तो बेला महसुस हुँदोरहेछ ।

हामी सँगै हिँडेको देखेर धेरैले धेरै अड्कल काट्थे,धेरैले मलाई उसको बारेमा राम्रा राम्रा कुराहरु सुनाउथे, म मनमनै गदगद हुँदै ति कुराहरु सुनिरहेन्थेँ,एकदिन उसैको कलेजको एक जना छात्राले मलाई एउटा सहयोग मागिन्, कुरा के रहेछ भने कलेजमा छात्राहरुले सारी अनिवार्य लगाउनुपर्ने रहेछ,जसको कारण महिला छात्राहरुलाई कलेज जान आउन गार्हो हुने साथै कलेजको लागी तयार हुन पनि समय खर्च हुने भएकोले सो पोसाक हटाइ अन्य राख्न निवेदन दिएका रहेछन्, नुफा कलेजको स्ववियु सभापती भएकोले यो विषयको निर्णयमा उसको धेरै ठुलो हात रहेको तर उक्त पोसाक परिवर्तन प्रस्ताव उसले अस्विकार गरेको हुनाले समस्या खडा भएको रहेछ । उसले सहयोग को अपेक्षा राख्दै भनिन “प्लिज तपाईंले भन्नुभो भने नुफा दाइले मान्नु हुन्छ, कलेज को ड्रेस फेर्न भन्दिनुन ल”
मलाई धेरै कुरा त थाहा थिएन, तर सोही दिन साँझ उ मेरो कोठामा आउँदा मैले त्यही कुरा राखेँ,कलेज आउन जान समस्या भैरहेको , त्यस माथी पनि अपाङ्ग महिला छात्राहरुको हकमा ज्यादै समस्या भएकोले पोसाक परिवर्तन गर्न भनेँ । त्यो दिन उ चुपचाप निस्कियो । अर्को दिन बहिनी खुशी हुँदै कोठामा आएर मलाई सुनाइन “रेजिना दि हाम्रो कलेज को ड्रेस चेन्ज हुने भयो नि”

एकदिन उ अचानक मेरो कोठामा आयो, सँधै जस्तो उसको मुहार थिएन । हतार कोठा भित्र छिर्दै एकै सासमा उसले सोध्यो “मेरो मेसेज पढ्यौ ?”
त्यो बेला याहु Yahoo को खुबै चलन थियो,मलाई थाहा सम्म थिएन कि उसले मेरो लागी मेसेज छोडेको छ । मैले नखरा पार्दै भनेँ “नाइ छैन” उसले “किन” को प्रश्न तेर्स्याउन नपाउँदै मैले जवाफ दिइहालेँ “म सँग साइबर जाने पैसा नै छैन कसरी हेर्नु ?”
“कती लाग्छ साइबर जान ?”
उसले आफ्नो पर्स निकालेर पैसा दिँदै भन्यो “हिँड खुरुक्क”
हामी सँगै साइबर छिर्यौँ, हामी सँगै एउटै क्याविन मा बस्य यौँ । कुन्नी किन उसलाई खुबै हतार थियो त्यो दिन, मैले मेरो आइडी लग इन गरेँ र उसको अफलाईन मेसेज पढेँ लेखेको रहेछ
“आकाशको विशालता र धर्तीको गम्भिरता तिमीलाई के था कि तिमीलाई म कती माया गर्छु भनेर”
मेसेज पढिसकेर मैले हाँस्दै भनेँ “एस्तो अर्थ न बर्थ को मेसेज पढ्न पनि किन हो यती हतारिनुभाको ?
“यसको अर्थ त बुझेकी छौ ?”
आँखा तर्दै उ क्याविन बाट बाहिरियो, नढाँटी भन्नु पर्दा मैले न त्यो मेसेज को अर्थ नै बुझेकी थिएँ न त खास केहि नै मलाई लागेको थियो ।

उ त्यस्तो चर्को कहिल्यै रिसाएन, कहिलेकाही रिसाएरै गएपनी आफै फर्केर आउने उसको बानी थियो । उ नजिक छँदा कुनै मलम लगाएजस्तो नरम महसुस हुन्थ्यो मलाई कस्तो नरम नरम साथ थियो भने त्यत्ती मिठो आभास त सायद ठमेल को पसल मा पस्मिनाको कपडा छुँदै गर्दा पनि अनुभव भएको थिएन मलाई!!! उसको कुरा गर्ने शैली हरु मन पर्थ्यो, उसले म प्रती गर्ने व्यवहार मन पर्थ्यो हुनसक्छ उ मलाई मन परेर होला उसको मन नपर्ने त्यस्तो कुनै कुरा थिएन । उ बाट प्रभावित भएर अब म पनि विधार्थी संगठनमा आवद्ध भएकी थिएँ, उसले रोजेको बाटो हिँड्ने रहर मलाई पनि पलाईसकेको थियो । अब म उ सँग व्यक्तिगत सँगसँगै साँगाठानिक नाताले पनि नजिक भएकी थिएँ ।

“मलाई अबदेखी फोन गर्नु पर्दैन, मिसकल गरे पुग्छ म आफै फोन गर्छु!!!तिम्ले फोन गर्दा पैसा लाग्छ”
उसले यत्ती भनेर कागजको सानो टुक्रा छोडेर गयो,जसमा उसको मोबाइल नम्बर लेखिएको रहेछ । Post Paid मोबाइल स्ववियुको नाम मा निकालिएको रहेछ । म ल्याण्ड लाईन देखी मिस कल गर्थेँ र उ मोबाइल देखी कल ब्याक । यस्तैमा एकदिन मैले मिसकल गरेँ र सँधै झैं उसले कल ब्याक गर्‍यो, अरु बेला कुराकानी हुन्थ्यो तर त्यो दिन मैले फोन रिसिभ गर्नासाथ उसले “ल म आइहालेँ” यत्ती भनेर फोन काट्यो । घरबेटिको फोन बुथ बाट निस्किएर आफ्नो कोठा नपुग्दै उ पनि आइहाल्यो । त्यो दिन हामीले फुर्सदका दिन झैँ रमाइला रमाइला कुरा गरेर समय वितायौँ र साँझ उ फर्कियो । त्यसै दिन साँझ बहिनी मेरो कोठामा आइन र रिसाउँदै भनिन “आज हामीले कार्यक्रम गरेका थियौँ र नुफा दाइलाई प्रमुख अतिथी राखेका थियौँ एकछिन सम्म त दाइ बसिरहनुभाथ्यो फेरी कता जानुभो कता,कस्तो हुनुहुँदोरहेछ ” म भने बहिनिको कुरा नसुने झैँ गरी अर्को तिर फर्केर मुस्कुराएँ वस ।
व्यस्तताका वावजुद पनि पुस्तक पढ्ने उसको राम्रो बानी थियो,एकदिन उसको कोठामा जाँदा उसले तसालीमा नसरीनको अनुवादित पुस्तक “आइमाइको हकमा” पढ्न भनेर दियो । सँधै म उसको नामको अर्थ सोधिरहन्थेँ, त्यो दिन उसले लिम्बु भाषाको शव्दार्थ पुस्तिका मेरो हातमा थमाउँदै उसले भन्यो “मेरो नामको अर्थ यहिँ पुस्तक मा खोजेर पत्ता लगाउनु”
उसले भनेको कुरा नमान्ने सवाल नै उठ्दैन थ्यो,कोठामा गएर पुस्तकमा भएभरको शव्दार्थ खोजेँ पुस्तकको अन्तिम पाना तिर रहेछ नुफाको अर्थ जसमा उसले highlight पनि गरेको रहेछ,त्यही दिन थाहा भयो लिम्बु भाषामा नुफा को अर्थ हुँदो रहेछ “क्षितिज”

स्ववियु चुनावको धमाधम तयारी भैरहेको थियो,उ आफ्नो सांगाठानिक कार्यमा व्य अस्त थियो । अब लगभाग हामी पहिले जस्तो भेट्ने र बोल्ने अनि एक अर्काको साथमा हराउने समय थिएन । चुनावी कार्यमा उ खटिरहँदा म पनि अरु हाम्रै संगठन को दिदी हरु सँग चुनावी प्रचार प्रसार र अन्य कुरामा संलग्न भएँ । दिन भर प्रचार प्रसार र अरु काम साँझ कहिले साथिभाइको मा बास त कहिले आफ्नै कोठामा उनिहरुसँग को बास हुन्थ्यो । यस्तैमा एकदिन एकजना दिदी र म मेरो कोठामा बस्ने सल्लाह भयो । दिन भर को थकान साँझ दिदी सँग कोठामा फर्केर खाना खायौँ, ति दिदी तत्कालिन स्ववियु उपसभापती थिइन । कुरै कुराको सिलसिलामा दिदिले मेरो कोठामा भएको पुस्तक हरु हेर्न थाल्नुभयो । पुस्तक को चाङ बाट नुफाको डायरि {अटो, फोटो सहित साथिहरुले आफ्नो बारेमा लेखेको डायरि } भेट्नुभो र अचम्म मान्दै सोध्नुभो “यो अटो तिम्रोमा कसरी आयो ? नुफा ले यो कसैलाई छुन सम्म पनि दिँदैनाथयो, उसले धेरै माया गरी राखेको चिज हो यो” दिदिको कुरा सुनेर म अचम्म परेँ, नुफाको कोठाबाट त्यो डायरि मैले उसैको अनुमती मा लिएर आएकी थिएँ । उसले त्यतिबेला त्यस्तो कुनै प्रतिकृया जनाएको थिएन । म मन्मनै यो सोंचेर छक्क परेँ कि त्यस्तो मुल्यवान चिज समेत उसले मेरो हातमा सुम्प्यो मैले किन नबुझेको होला!!!

चुनावको दिन नजिकिँदै गर्दा तनाव हरु पनि नजिकिँदै गए, विषेशत विपक्षी पार्टीका भातृ संगठनका साथीहरुले चुनाव हुन नदिन विभिन्न कृयाकलाप हरु गरिरहेका थिए । हाम्रा कती साथीहरु सुरक्षाको हिसाबले प्राय साथै रहन थालेका थिए । चुनावी माहोल बिगार्न क्याम्पस हाता भित्र या बाहिर जुनसुकै बेला जस्तोसुकै घटना पर्नी घट्न सक्थ्यो । पुस्तकालय जलाउन देखी लिएर कुटपिटका घटना घटिसकेका थिए । हामी पनि होसियार भएर लागी परिरहेका थियौँ ।  चुनाव को दिन पनि आयो र नभन्दै विहान केहि विपक्षी पार्टीका साथीहरुले क्याम्पस हातामा हातीयार लिएर प्रवेश गरी चुनावी माहोल बिथोले, अन्तत: त्यत्तिका दिन देखिको हाम्रो मेहनत पानीमा गएझैँ भयो । स्ववियु चुनाव स्थगित भयो र हाम्रा सारा सपना पनि!!!

सायद हाम्रो यात्राको गन्तव्य त्यही थियो,स्ववियु चुनाव हुन नसकेको दिन देखी उ सँग मेरो भेट हुन सकेन, सायद उ अब बाटो मोड्न चाहन्थ्यो या अन्य कुनै कारण थियो मैले बुझिन, त्यसै त्यसै टाढिएर गएको उसलाई मैले रोक्न पनि चाहिन,रोक्नलाई स्पष्ट कारण पनि त म सँग थिएन!!! सायद हाम्रो सम्बन्ध उसको नाम जस्तै थियो “नुफा” अर्थात “क्षितिज” टाढा बाट हेर्नेले धेरै थोक देखे,नजिक म रहेकोले मात्र थाहा पाएँ कि त्याहाँ देखिए जस्तो केहि थिएन, उहि क्षितिज जस्तै टाढा बाट हेर्दा नजिक भए जस्तो तर नजिक गएर हेर्दा झनै टाढा टाढा!!!

Posted in Story | Leave a comment

फोटो

“फोटो देख्नुभो ?”
च्याटको क्रममा एकजना भाइले भने । उसले कुन फोटोको कुरा गरिरहेको भन्ने मैले बुझिसकेको थिएँ । उ सँग कुरा गर्नुअघी मैले त्यो फोटो देखिसकेकी थिएँ,तर कुरालाई नबुझेको शैलीमा मैले पनि भन्दिएँ “कुन फोटो ? होलीको फोटो कि ?”
सायद उसले आफैले कुरा खोल्न चाहेन या केहि अरु कुराले उसले कुरा अन्तै मोड्दै भन्यो “अँ मेरो गर्लफ्रेण्डको फोटो के त”
“ए अँ अघी देखेको थेँ, होलीको हैन ?”
“अँ त्यै”
संवाद अन्तै मोडियो
“के गरेर दिन काट्नुभयो नि ?”
“”सकस्” पढेँ जगादिश घिमिरेको”
“सकस ? किन के भएर फेरी ?”
प्रसङ्गले फेरी अन्तै मोड्ने देखेँ मैले,उसले कुरो मोडेर फोटोको बारेमा मेरो धारणा लिन चाहन्थ्यो, म नजानिँदो पारामा खुस्किन चाहन्थेँ त्यो कुरा बाट ।
धेरै बेर मेरो जवाफ नपाएर होला फेरी उसैले सोध्यो
“I mean release भाको त धेरै भयो र नि ”
“अँ धेरै भो तर मेरो हात मा किताब परेको धेरै भाको छैन नि त”

हाँसेको इमो सँगै पठाएँ आफ्ना संवाद हरु । आजकल खुब सजिलो भाछ च्याट गर्न,जस्तै मन दुखेको भएपनी हाँसेको इमो पठाएसी आफसेआफ उसले बुझ्छ कि मान्छे क्या खुशी छ । विज्ञान ले सबथोक बनायो शिवाय मन भित्र भाको सत्य कुरा हेर्ने यन्त्र, कसको मन भित्र केछ हेर्न मिल्ने भाको भए म उसैको मन हेर्ने थिएँ र पत्ता उसै बेला लगाउने थिएँ जतिबेला म जिन्दगी को बाटो मोड्दै थिएँ । तर अफसोस यसो हुन सकेको पटक्कै हैन,म धेरै पर फालिएँ जहाँबाट उठेर धेरै कदम हिँड्न पर्ने भयो, दौडिन लाई त ठुलै साहस बटुल्न पर्ने भयो,जुन मेरो लागी असम्भव थियो । मैले बोलेका हरेक शव्दले कसरी कसरी उसले म भित्र केहि जान्न खोजे जस्तो लागिरह्यो मलाई,फोटोले म भित्र उब्जाएको कुराको बारेमा उसले जान्न खोजिरहेको भान भैरह्यो मलाई,म भाग्न खोजिरहेँ कुनै न कुनै बहानामा ।

त्यो एउटा दिन थियो र आज पनि छ,जतिखेर पनि सामाजिक संजाल मा रहिरहन पर्ने मलाई । त्यस्तै समयमा मैले उसलाई चिनेकी थिएँ ।चिनजान को केहि दिनमै सम्बन्ध धेरै गहिराइमा पुग्यो । उसको परिवार मा म धेरै परिचित भएँ । आउन जान कुनै रोकटोक थिएन ।म गैरहन्थेँ आइरहन्थेँ । धेरैले बुझेका थिए हाम्रो बारेमा ।बि स्तारै म भित्र एक किसिमको वितृष्णा जाग्न थाल्यो,सायद जिन्दगीले अर्को कोल्टे फेर्न चाहन्थ्यो या भाग्न य ले मलाई अर्कै दिशा तिर सजिलैजान चाहन्थ्यो या त अरु नै केहि । मलाई आफु एक्लै रहन मन लाग्थ्यो । र मैले उसको र उसको परिवार को फोन उठाउन भेट्घाट गर्न बन्द गरिदिएँ ।म बाटो लाग्ने बेला नरोक्नेहारु नभएका हैनन्, तर म भित्र एक किसिमको घमण्ड उब्जिएको थियो या हठ लिएर बसेकी थिएँ म । रोक्न त त्यो बेला मलाई इन्द्र का बाउ चन्द्र आएनी नरोकिने थिएँ । सायद उसले यही आशय बुझेर होला मलाई अलग्गै बाटो छोडिदियो ।केहि समय खुशी भएँ म पनि । बाटाहरु खुला भएर आफै फैलिदिए भने हिँड्न कस्लाई सजिलो लाग्दैन र ? तर कस्लाई के थाहा कुन मोडमा पुगेर त्यो चौतारीको याद आउँछ भनेर ? कस्लाई के पत्तो कुन घुम्तीमा पुग्दा त्यो देउरालीको महत्व बुझिन्छ भनेर ? गुराँस हरु बाटैभरी हेर्दै जाँदा छेवैमा भाको गुलाफ ले इर्श्या गरी दु:ख दिन्छ भनेर कस्ले अनुमान गर्ला र ?

बाटाहरु जब आफैले बन्द गरिन्छ तब मन भित्रका दम्भहरु रैछन जो पु:न ति बाटाहरु खुल्न दिन्नन । म भित्र पनि सायद यस्तै भयो । इर्श्या रिस राग लाई भगवान सम्झी पुजिरहेँ र असली भगवान सँधै ओझेल परिरह्यो ।
“तैँले गरेको पापको फल भोगिराछस्”
कसैले एक दिन मलाई यस्तै भनेथ्यो,आज सम्झिन्छु सायद हुनसक्छ मैले पाप गरेकी ले यि सब भैराछन ।

कोही थियो उसैको साथी जस्ले मलाई फसाएको थियो ।फसाएको के भ नौँ खुद उ आफै फसेको थियो म सँग प्रेम को नाटक गर्न,उसले दिएको पिडामा मैले वदला को भाव राखेँ र उसैको साथीलाई सोही पिडा दिन्छु भन्ने वाचा गरेँ,भयो पनि त्यस्तै,तर उस बेला सोंचिन कि कसैलाई पिडा दिँदा आफु पनि दुख्नु पर्छ भनेर ।अनुमान म लगाउँछु यस बेला कि म चोट दिनेलाई त यती दिनेलाई त यती दुख्यो भने उ स्वयं चोट भोग्नेलाई कती दुख्यो होला ? तर अहिले उसले बसालेको खुशीको संसार देख्दा सम्झन्छु कास म त्यो ठाउँमा भएको भए!!! म हुनसक्ने त्यो ठाउँमा धेरै भन्दा धेरै सम्भावना हरु थिए, जो सम्भावनाहरु म आफैले मेटाएकी थिएँ । यसमा अरु कसैको दोष नभएर म खुद आफैँले आफैलाई सजाय दिएकी थिएँ । आफ्नो भाग्य को गोरेटो आफैले खुद खाल्टो तिर लगेकी थिएँ । सोंचेर मात्र के हुँदोरहेछ र ? सोंचाइ गराइ र भोगाइ हरुमा धेरै अन्तर हुनेरहेछ म त्यस बेला ज्ञान को सागर मा डुबिरहेकी थिएँ । उसले अग्रगामी छलाङ मारेको देख्दा स्वयं म आफु पनि चकित थिएँ,उ त्यस्तो होला भनेर कहिल्यै सोंचेकी सम्म थिइन मैले, भविश्य चिन्न सक्ने भएको भए मानिस किन गलत काम गर्थ्यो होला र ?म किन बरालिन्थेँ होला र ? गल्ती भयो जिन्दगी मा गलत बाटो धेरै हिँडीएछ ,यतिसम्म कि फर्केर जान नमिल्ने गरी हिँडिएछ । सम्भवत अब फेरी फेरी त्यस्तो बाटो हिँड्ने मौका नमिल्ला । भनिन्छ नि बगेको खोला फर्कँदैन्,मौका आउँछ प र्खँदैन,मलाई पनि प र्खेन आफ्नै जिन्दगीले ।
“खाना खानुभो त ?”
म घोरिइरहेकी थिएँ,उता बाट अर्को मेसेज आयो,मैले पनि मुड परिवर्तन गर्न उत्तर दिएँ, यतीनजेल कम्प्युटरले उसको विवाहको फोटो डाउनलोड भैसकेको जानकारी दियो, कुन्नी किन मलाई जुम गरी गरी हेर्न मन थ्यो बेस्सरी खुलेर हाँसेको त्यो जोडीको फोटो । हेरीरहेँ हेरिरहेँ!!!

Posted in Story | Leave a comment

हुनत
मैले धेरै शहर घुमेको छैन
तर
यौटै शहर धेरै पटक घुमेको छु
यसको अंग प्रत्यङ्ग चुमेको छु
घुमेको र चुमेको आधारमा भन्नु पर्दा
मैले अर्को काठ्माण्डु भेट्न मुस्किल छ
यौटा सानो खाल्डो भन्छन्
तर पनि मन्छे छिरेकै छन्
अटाएकै छन्
हिँड्दा सयौँ धुलो भेटिन्छ
पाइला मेटिन्छ
कहिलेकाहिँ त मुटु पनि रेटिन्छ
तर त्यस्तो बिग्रँदो के गरेको छ काठ्माण्डुले ?
बरु मान्छे ले यसलाई धेरै गरे
कहिले नाम फेरे
कहिले दाम फेरे
काठ्माण्डु देखी घाट्माण्डु
कहिले फूड्माण्डु र मास्कमाण्डु
आखिर माण्डु माण्डु नै रह्यो
जसले जता बटारे पनि
उज्यालामा इमान्दार देखिएका हरुको
अस लियत रातभर छर्लङ्ग देखिन्थ्यो
शिर देखी पाउ सम्म टल्किने दर्जा
अँध्यारोले हो कि
फरक छुट्याउन मुस्किल हुन्थ्यो
कती सोझा छिरेर बाङ्गो भए
कुबेर भ नाउँदा हरु पनि नाङ्गो भए
बामदेव र राम देव अँटाउन सक्ने ले
कामदेव पनि किन पछी हट्थ्यो र ?
बरु रती र फुल मती हरु छ्याप्छ्याप्ती भेटिए
राजा आए
राजा गए
तन्त्रै तन्त्र भोगेको यो शहरले
मन्त्रै मन्त्र पनि भोगेको छ
टोल भरीका देउताहरु बसेको बैठकमा
राक्षसको हस्तक्षेप
बरु यस्तो हुन सक्ला
तर
काठ्माण्डौ ले लिन नमानेको
र दिन नमानेको केहि भेटिन्न
हुनत
मैले धेरै शहर घुमेको छैन
तर
यौटै शहर धेरै पटक घुमेको छु
यसको अंग प्रत्यङ्ग चुमेको छु
घुमेको र चुमेको आधारमा भन्नु पर्दा
मैले अर्को काठ्माण्डु भेट्न मुस्किल छ

@RaiRejina

Posted in Uncategorized | Leave a comment

बाटा र सपनाहरु

11074638_906321249391162_404067154_n

वर्षौ देखी
हिँड्न रहर गरेको
बाटो सम्झेँ
फेरी उस्तै गरी
चल्मलाईरहेको
मन भित्रको खाटो सम्झेँ
कहिलेकाही “लायक” हरु
सबै “नायक” हुन्नन रहेछ
सपनाहरु सबै
पायक हुन्नन रहेछ
उसो त हार कहाँ मानियो र ?
बिना जोर जबर्जस्ती पनि थिएन
सबै संघर्षको अर्थ रहन्नन पनि
जित्नै पर्ने जिन्दगीमा
सर्त रहन्नन पनि
पाइला मेरो नरहे
कसैको त जरुर रहन्छ
पर्ख गोरेटो!!!
तिमीलाई पच्छ्यौँदै
तिम्रै शाखाहरुमा अल्झिरहेछु
आफ्नै मनको घाउहरुमा
कता कता बल्झिरहेछु
जस्तो कि
सागर पुग्ने प्यासी मन
कुनै खहरे सँग चित्त बुझाइरहेछ
बस यहिँ सम्झेर कि
सम्झौता गर्न सक्नु जिन्दगीको महानता हो
फुट्ला नि कुनै वर्षादी भेलले
सम्झौताको त्यो पर्खाल
छालहरु किनारा कटेर गए झैँ
उड्लान नि मेरा सपनाहरु
भर्खरै पिंजडा बाट छोडिएको पंक्षी झैँ
कतै बिना गन्तव्य
जरुर कतै पुगिने आशामा
चाहे फरक किन नहोस्
मेरा बाटा र सपनाहरु

@RaiRejina

Posted in Uncategorized | Leave a comment

वाचा

वाचा नगर्ने हरु मर्छन्
र वाचा गर्ने हरु पनि मर्छन्
आखिर फरक कहाँ रह्यो र ?
दुबै मरिसकेपछी!!!
वाचा नगर्ने हरुको कुरा अलग रह्यो,
तर वाचा गर्ने हरु पृथक भन्ठान्लान आफुलाई!!!
तर खै वाचा गर्ने स्वयं नै मरिसकेपछि
के बाँचिरहलान त ति निरिह वाचा हरु ?
भन्नेहरु भन्लान
विस्वास हो
भरोसाले जग बलियो बनाउनु पर्छ
जड कुरो त त्यती बेला निस्कन्छ
जब रहन्नन अस्तित्व, त कहाँ रहला त्यो वाचा ?
भगवानले मान्छे बनाए
मान्छेले भगवान बनाए
या त दुबैले मिलिजुली एक अर्कालाई बनाए
जसले जसलाई बनाए पनि
यहाँ मान्छे हरु आफ्नो आयु भगवान को हातमा ठान्छन
र भगवान को आयु आफ्नै बिस्वास को खातामा कोरिरहेका हुन्छन्
निर्जिव भगवान को कुन्नी कस्तो आदेश हुन्छ
र जिवित मान्छे हरु
मरिमेट्छन तीनका लागी
नमागी दिइरहेका
र दिएर मागिरहेका
अजिव भगवान
अनेक मान्छे हरु
फेरी अर्को वाचा को शुरुवात हुन्छ
त्यसै गरी त्यो मान्छे मर्छ

अर्को वाचा जन्मन्छ
अर्को मन्छे सँगै

@RaiRejina

Posted in Poem, Uncategorized | Leave a comment

डिल्लिबजारको पिपलबोट

सँधै हतारोमा
शुरुवात भएको विहान
कालिकास्थान हुँदै
नजिकैको पिपलबोट कटेपछी टुङ्गिन्छ
र अर्को यौटा मध्यान्ह
त्यही पिपलबोट कटेपछी शुरुवात हुन्छ
गन्तव्य फरक हुन्
तर यात्रा विच
मेरा मस्तिस्क
सोंच्न बाध्य हुन्छन्
आखिर त्यस्तो के बाध्यता रहेछ
जसको लागी म यो हतार दौडिरहेछु
आखिर त्यस्तो के अनिवार्यता रहेछ
जसको लागी म यो बेली बिस्तार लगाइरहेछु
त्यस्तो उचित जवाफ त पाउँदिन
तर चित्त जरुर बुझ्छ
हो मैले जानेको जम्मा यत्ती हो
मैले बुझेको जम्मा यत्ती हो
भन्ने हरुले भने
“माया व्यवहारमा देखाउँनुपर्छ”
तर यस्तै भन्नेहरुले यो पनि भनिदिए हुन्थ्यो कि
आखिर मायालाई व्यवहारमा कसरी देखाउनुपर्छ ?
मैले जानेको त वस यत्ती हो
की साँझ बिहान
र फुर्सद मिल्दा
उसको सम्झ ना गरुँ
मुस्कान को गहना पहिरिँदा
उसलाई राम्रो देख्छु
र म हरदम यसैको लागी कोसिस गरुँ
तर भन्ने हरुले भनिरहे
माया कुन्नी कस्तो कस्तो हुनुपर्छ भनेर
मैले निरन्तर कर्म गरिरहेँ
मेरो आफ्नै विधी विधानमा रहेर
सायद
बुझाउन नसक्नु कमजोरी भयो
र मेरो निरन्तरतामा उसले पुर्णविराम लगायो
तर म उस्तै रहेँ
फेरी अर्को पाइलाको लागी अर्को विहान कुरिरहेँ
सम्भवत उसले बुझ्ला कि त भनि
अर्को आश बोकि
हिँडिरहेँ
त्यहिँ डिल्लिबजारको पिपलबोट

@RaiRejina

Posted in Uncategorized | Leave a comment

ढुङ्गा मान्छे

हो म ढुंगो मान्छे
कहिले यता कहिले उता
बेटुङ्गो मान्छे
बोक्न कसले हिम्मत गरोस ?
बिचरा म त गर्हुँगो मान्छे!!!

सिप हुने हरु
मुर्ती बनाउन कसिन्छन्
तर विवश हथऔँडा
अन्तै खोपिन पुग्छ र
आकार भन्दा बढी बिकार हुन पुग्दछु
कोही त्यसै अढेस लाग्न आउँछन्
र खस्रो भाग तिर बाट
चोट खाएर दुख्छन अनि भाग्छन म देखी दुर दुर्
म त ढुङ्गो न परेँ
चाहेर पनि नचाहेर पनि
मैले गर्ने धर्म भनेकै
बिझाउने हो
पर्खाल बनाउलान कोहि
सुरक्षित हुने प्रयासमा
बाटो बनाउलान कोहि
यात्रा गर्ने अभ्यासमा
जसले जे बनाए पनि
रिस म माथी नै खनाए पनि
आखिर दुख्ने ति नै हुन्
जो म सित जोरी खोज्छन्
हुँदै नभएको दया र
ममताको पोखरी खोज्छन

हो म ढुंगो मान्छे
कहिले यता कहिले उता
बेटुङ्गो मान्छे
बोक्न कसले हिम्मत गरोस ?
बिचरा म त गर्हुँगो मान्छे!!!

Posted in Poem, Uncategorized | Leave a comment

गीत ;)

जिन्दगी रमाइलो कोही नजिक भएर
जिन्दगी रमाइलो कोही टाढा गएर
म त यस्तो त्यस्तो केहि भन्दिन
जिन्दगी रमाइलो म आफु रहेर

कोही आए वर्षौँ खुशी बनाउन
कोही आए दर्द पिडा सुनाउन
जसरी आए त्यसरी नै गए
संसारको रित मलाई सम्झाउन

खुशी होलान यहाँ कोही भेटेर
वर्षौँको प्यास आँशुले मेटेर
मलाई त्यस्तो कहाँ थियो निम्त
भाग्य फेरिन्न हत्केला रेटेर

@RaiRejina

Posted in Uncategorized | Leave a comment